कविता

..

कथा

...
  • गज़ल

  • गतिविधि

  • गीत

  • हाइकु

  • catagory 6

  • catagory 5

  • लेख-रचना

अनुभूतिको क्यानभासमा

कथाकार दिवाकर नेपालीज्यू, केही समयअघि मेरो तपाईसँग भेट भएको थियो । अपरिचयताको आवरणले ढाकेको हाम्रो सम्बन्धलाई किन हो मैले अनावरण गर्न रुचाइनँ । किन रुचाइनँ त्यसको आफ्नै कथा छ । अहिले मेरो मनोदशा सामान्यबाट असामान्य बन्दै गएको छ । लेखनमा लागेपछि मेरा भावनाहरू रित्तो भएझैँ लागिरहेछन् । मेरा कथाहरूलाई प्रतिउत्तर दिनु भएको हुनाले तपाईँसँग मेरो एक प्रकारको भावनात्मक सम्बन्ध गाँसिँदै गएको महसुस मैले गरेकी छु । किन हो हिजोआज म कुनै अतृप्त प्रेमको भोकी भएकी छु । लेखनमा भएको सक्रियतासँगै मेरा भावना, अनुभूतिहरू आकाशमा बतासिइरहेका छन् । मेरा सोचाइहरू अनियन्त्रित चङगाझैँ उडिरहेका छन् । यिनीहरूलाई मैले थाम्नै पर्छ , बाध्नै पर्छ । नत्र भने म धागो चुडिएको चङगाझैँ उडेर कतै हराउन वा बिलाउन सक्छु । त्यसैले मैले मेरा भावनाहरू, अनुभूतिहरू सङग्रह गरेर एउटा चित्र कोरेँ । मेरो क्यानभासमा त्यो कसको चित्र थियो म भन्न सक्दिनँ तर मैले त्यो चित्रलाई एउटा सुन्दर कवितामा ढालेँ । त्यस चित्रका आकृतिहरूलाई बिम्ब बनाएँ । रङ्गहरूलाई शैली बनाएँ । कोलाजहरूलाई अनुभूतिका भावहरूमा बदलेँ । समष्टिमा मैले त्यो चित्रलाई एउटा बिम्बात्मक र प्रतिकात्मक रूपले सुन्दर कवितामा पगालेँ । जसरी एउटा मूर्तिकारले धातुलाई पगालेर एउटा सुन्दर मूर्ति बनाउँछ । त्यो मूर्तिको सौर्न्दर्य यस प्रकारको थियो ।
मैले नलाएको माया उसलाई
मेरो मुटुभरि र मस्तिष्कभरि मेरा भावानासँग
लुकामारी खेल्दै कहिले साउनेझरी बनेर
कहिले शरदको प्रीतको थोपा बनेर
बर्सिरहन्छ, बर्सिरहन्छ ।

मैले नछोएको माया उसलाई र्
कर्कलोको पानी बनेर मेरो जीवनको
उकाली ओरालीमा छायाँ बनेर
कहिले चौतारीमा, कहिले द्यौरालीमा
पछ्याइरहन्छ , पछ्याइरहन्छ ।

मैले नदेखेको माया उसलाई
क्षितिजपारिको मधुरो दृश्य बनेर मेरो आकृतिलाई
कहिले उषाको किरणमा कहिले गोधूलि साँझमा
स्नेहले अनावृत गरेर मेरो हृदयभरि
नहराउने एउटा प्रेमको सालिक
उभ्याइरहन्छ उभ्याइरहन्छ ।

मैले नसुनेको माया उसलाई
नबुझिने चराको भाषा बनेर
सल्लाको सुसेलीसँगै मीठो संगीतको धून बनेर
मेरो कानभरि पवित्र आत्माको सा-रे-ग-म
प्रत्येक पल, प्रत्येक क्षण
गुञ्जाइरहन्छ , गुञ्जाइरहन्छ ।


मैले नलेखेको माया उसलाई
कहिले कथा बनेर कहिले कविता बनेर
बाँच्नुको र्सार्थकतालाई जीवन्त पारेर
मेरो जीवनको गाथालाई
बिम्ब र प्रतिकको परिभाषामा रुपान्तरित
गरिरहन्छ , गरिरहन्छ ।

मैले नलाएको माया उसलाई
कहिले शीत बनेर कहिले गीत बनेर
कहिले काया बनेर कहिले छायाँ बनेर
कहिले संगीत बनेर कहिले सुभाष छरेर
हरपल मेरो जीवनको अमूल्य क्षणभरि
एउटा जिउँदो इतिहासको चित्र
कोरिरहन्छ कोरिरहन्छ ।
एकदिन अफिस भनौ मेरो लाइब्रेरीको कोठामा तपाईँ प्रमुख अतिथि भएर एउटा साहित्यिक कार्यक्रममा काठमाडौंबाट आउँदै हुनुहुन्छ भन्ने हल्ला सुनेँ । म उत्ति सारो साहित्यिक कार्यक्रममा हिँडदिनँ । यसरी नहिँडनुको कारणहरू धेरै छन् । जसलाई म यसरी सबिस्तार उद्धृत गर्न चाहन्छु । पहिलो कारण प्रायः ती कार्यक्रम कवि गोष्ठी हुने गर्दछन् । म कविता राम्रो लेख्न सक्दिनँ भन्ने हीनभावना मसँग छ । त्यसैले कवितावाचनमा कहिल्यै भाग लिदिनँ। दोस्रो कारण मेरा श्रीमान् यसरी साहित्यिक कार्यक्रममा हिँडेको पटक्कै रुचाउँदैनन् । तेस्रो कारण प्रायः शनिबार हुने यस्ता कार्यक्रममा मेरो घरव्यवहारले फुर्सद नहुने भएर हो । चौथो कारण आफू साहित्यमा ढिलो लागेको हुनाले साहित्यिक संस्कार अनुसार कनिष्ठताको स्थान स्वीकारेर बस्नुपर्ने बाध्यता । पाँचौ कारणचाहिँ यस्ता कार्यक्रममा पुरुषले नारीलाई यौन वासनाका रूपले हेर्ने प्रवृत्ति हो जुन कुरा मलाई पटक्कै मन पर्दैन । त्यसै पनि मैले मेरो सौर्न्दर्यमा लुटपुटिन चाहना गर्ने प्रक्षेपकरूपी तीखा आँखाहरूको प्रहार सहनुपर्ने हुन्छ । यिनै कारणले प्रायः म साहित्यिक कार्यक्रममा हिँडने गर्दिनँ । त्यसैले मलाई मेरै ठाउँमा पनि धेरै कमले चिन्ने गर्दछन् । जतिले चिन्दछन् तिनीहरूले पनि मलाई घमण्डीको तक्मा लगाइदिइसकेका छन् । तर मलाई यस कुराले केही असर पर्दैन ।
त्यो दिनको कार्यक्रममा मलाई किन हो जाऊँजाऊँ लाग्यो । क्याम्पसमा एक दुइ जना प्राध्यापकहरूले जसले मलाई लेख्छु भनेर चिन्नु भएको थियो । उहाँहरूबाट मैले कार्यक्रम बारे जानकारी लिएँ । म कार्यक्रमस्थल पुगेँ । म तपाईलाई राम्ररी चिन्दथेँ । तर तपाईले मलाई चिन्नसक्नु भएन । एकपल्ट भेटेको मान्छेलाई चिनीहाल्न गारो पनि हुन्छ मलाई पनि थाहा छ । एक दुइवटा कथा छापिएका पत्रिकामा पनि मेरो फोटो मलाई नै आफ्नो होइन जस्तो लागेको थियो भने तपाईले चिन्ने सम्भावना नै भएन । फेरि त्यत्रा मानिसका हजारौं आँखा भएको भीडमा दुइ आँखाले के र कति मात्रामा हेर्न भ्याउनु । तपाईँको निर्दोषिताप्रति मेरो कुनै गुञ्जाइस छैन । तपाईँ आउने भनिएर होला हलमा मान्छे खचाखच भरिएका थिए । तपाईँको स्वागतमा भव्य तयारी गरिएको रहेछ । लाग्दथ्यो राष्ट्रको राष्ट्रपति आएझैँ साहित्यको साहित्यपतिको सवारी भइरहेछ । त्यसै पनि काठमाडौंका साहित्यकार मोफसलका लागि सृष्टिकर्ता ब्रद्माजी सरह हुन्छन् । उनीहरूले आफ्नो र आफ्नो क्षेत्रको बारेमा कुनै वेद वा रामायण नै लेखिदिने हुन् कि भन्ने ठूलो आशा हुन्छ । यो आशा सबै मोफसलको साहित्यकारहरूले हुर्कउने गर्दछन् मलजल सहित । म स्वयं पनि यसकुराबाट अपवाद हुन सक्दिनँ। आकासिने इच्छा कसलाई हुँदैन र - त्यो आकाशिने उपकरण बोकेर बसेको छ काठमाडौँ । कतै त्यो उपकरणको स्वीच आफ्नो नाममा दबिहाल्छ कि भनेर आफ्ना रचना बोकेर चेप्टिएर तिनीहरू आकाश हेरेर बसेका थिए । सबैजना तपाईँसँग हात मिलाउँदै, चिनापर्ची गर्ने, र भलाकुसारी गर्ने तीव्र इच्छाका साथ उभिएका थिए । हेर्दाहरेर्दैतपाईँका हातमा ठेलीठेलीका पुस्तक जम्मा भए झण्डै एउटा भरिया चाहिनेझैँ गरी । मलाई पनि लाग्यो तपाईँले प्रतिउत्तर दिने कथाकार बैनी अनामिका मै हुँ भनेर परिचय दिन तर किन हो मलाई आफू परिचित हुन मन लागेन । तपाईँले सोधीखोजी गरेर मलाई परिचय लिन आउनु होला भन्ने आशा लागेको थियो । यसरी तपार्इँजस्तो विशिष्ट व्यक्तिबाट सोधीखोजी भएर परिचय हुन पाउँदा मेरो मूल्याङ्कन नै अर्कै हुन्थ्यो । हामी कथाको माध्यमबाट यति नजिक भएका छौ, पक्कै पनि मेरो परिचयको लागि कुनै न कुनै उपाय गर्नु हुनेछ भन्ने मलाई लागेको थियो । त्यसैले मैले आफू स्वयम्ले अपरिचयताको घुम्टो उघार्ने कोशिश नै गरिनँ ।
तपाईँ सबैसँग हात मिलाउँदै मञ्चतिर बस्न जानुभयो । एकछिन पछि एउटी नारी साहित्यकार फूलको गुच्छा मुस्कुराउँदै तपाईँलाई दिन गई । मलाई किन हो भित्रदेखि रिस उठेर आयो ।। त्यो फूलको गुच्छाबाट रातो गुलाफ झकिेर तपाईँलाई दिन मन लाग्यो । तर यो असम्भव थियो । त्यसैले मैले असम्भव्यतालाई घुटुक्क थुक निलेझैँ निलेँ ।
कार्यक्रम सुरु भइसकेको थियो । सुरुमा कवितावाचन थियो । मैले पनि मैले उही कोरेको 'मैले नलाएको माया उसलाई' कविता बोकेकी थिएँ । कविता सुनाऊ कि नसुनाऊ भयो । मैले कविता सुनाएँ तपाईले मलाई अवश्य चिन्नुहुनेछ भन्ने मलाई लाग्यो । मलाई यसरी चिनिन पटक्कै इच्छा लागेन । फेरि मेरो कविताको स्तरीयताले तपाईँले मेरो साहित्यिक गहिर्राईको मुल्याङ्कन गर्नु हुनेछ भनेर पनि सुनाउन चाहिनँ । म विचारको तरङ्गमा तैरिरहेकी थिएँ ।
कविता वाचनपछि समसामायिक नेपाली साहित्यमा गद्याविद्याको विकास नामक विषयमा अर्न्तक्रिया कार्यक्रम थियो । त्यस कार्यक्रममा प्रश्नकर्ताहरूले तपाईलाई सोधेर आच्छुआच्छु पार्दथे । तर तपाईँको गहन वौद्धिकताको अगाडि ती विचरा अज्ञानताले चुटेको मुसोसरह ठहरिन्थे । मलाई किन हो ती प्रतिक्रियावादीहरूलाई तपाईँले जित्दा एक किसिमको आनन्दानुभूति हुने गर्दथ्यो । समसामयिक मोफसलको लेखकहरूको चर्चा गर्नु हुँदा तपाईँले एकपल्ट मेरो नाम पनि उच्चाहरण गर्नुभएको थियो । मेरो नाम उल्लेख गर्नुहुदाँ मेरो नाक उचालिएर सगरमाथा भएको थियो । गर्वले मन फुलिएर थामिनसक्नु भएको थियो । अर्न्तक्रिया कार्यक्रमपछि चियापानको कार्यक्रम थियो । चियापान कार्यक्रममा धेरै जुनियर साहित्यकार त्यो पनि महिलाहरूले चिनापर्ची गर्न गए । तर किन हो मलाई जान मन लागेन । म अलिक फरक स्वभावकी छु । म सबैले गरेको काम फरक ढङ्गले गर्न चाहन्छु । फेरि तपाईँले अवश्य पनि मेरो विषयमा सोधीखोजी गरेर मलाई पत्ता लगाउनु होला भन्ने ठूलो आसा थियो । मेरो आत्मस्वाभिमानले तपाईँसँग परिचय लिन जान पनि मानेन । यतिन्जेल निकै ढिलो भइसकेको थियो । चियापान कार्यक्रम निकै ढिलो भइसकेको थियो । चियापान कार्यक्रम निकै लम्बिन सक्थ्यो तर म धेरै बेर बस्न सक्दिनथेँ । त्यसैले म रित्तो मनलिएर म घर आएँ । घरमा दैनिक काममा अल्झनुपर्यो । त्यही बेला श्रीमानको फोन आयो - 'तिमी आज बेलुका रेष्टुरेष्टको काउन्टरमा गएर बसिदिनु है । म धरानमा मिटिङ्गमा छ, . आउन ढिला हुन्छ ।" लोग्नेमान्छेलाई कति सजिलो छ, 'मिटिङ्ग छ' भनिदियो सकियो । समाजले यति धेरै स्वतन्त्रता दिएपछि सदुपयोग त गर्ने पर्यो नि † म बेलुका रेष्टुरेण्टमा बस्दिनथेँ । रेष्टुरेण्टको काउण्टरमा बेलुकी समय महिला त्यो पनि म जस्तो सुन्दरी बस्नु भनेको फूलको वरिपरि भवरा घुमाउनु जत्तिको थियो । इच्छा नहुँदानहुँदै पनि म काउण्टरमा बस्न गएँ । अचम्म † एकछिन पछि केही साहित्यकारसँग तपाईँ भित्र बस्नुभयो । त्यो पनि ठीक मेरो छेउमा । मलाई सपनाजस्तो लाग्यो । धन्न, ती तपाईँसँग आउने साहित्यकारहरू मलाई नचिन्ने परेछन् । नत्र तिनीहरूले तपाईसँग मेरो चिनापर्ची गराइदिने थिए र एक दुर्इ बोतल वियर सित्तैमा उडाउन बेर लाउँदैनथे । म धेरैजसो साहित्यिक कार्यक्रममा नगएको अहिले फाइदा भए जस्तो लाग्यो । तपाईँहरूले वियर चिकनरोष्ट मगाएर खानथाल्नु भयो । मेरो सम्पूर्ण ध्यानचाहिँ तपाईँहरू पट्टि नै थियो । हाम्रो शहरमा हाम्रो रेष्टुरेण्ट तथा लज स्तरीयतामा गनिन्थ्यो । त्यसैले होला आयोजकले तपाईँलाई हाम्रो रेष्टुरेण्टमा ल्याएका होलान् म अनुमानको विऊ र्छन थाल्छु । कोठा बुक गर्ने खाता हेर्छु रातिको लागि पनि हाम्रै लजमा कोठा बुक गराइएको पाउँछु । सदा मेरो श्रीमान यसरी ढिलो आएर म काउन्टरमा बस्नुपर्दा मलाई साह्रै रिस उठथ्यो । तर आज मलाई पटक्कै रिस उठेन । बरु उसलाई धन्यवाद दिन मन लाग्यो । तपाईँ बोलेको, हाँसेको म घरीघरी छड्के आँखाले हेर्ने गर्दथे । एकपल्ट तपाईँले मेरो नाम लिनुभयो । सायद यो ठाउँमा म छु भनेर होला । तर अरु साहित्यकारले खासै महत्त्व दिएनन् र कुरा अन्तै मोडियो । यस कुराले मेरो मनमा केही राहत प्राप्त भयो । किनभने तपाईँले मेरो विषय केही मात्रामा भए पनि खोजी गर्नु भएको रहेछ भनेर । तर आफू मात्र अघि बढु र आफ्नो मात्र चर्चा होस् भन्ने मपाईँहरूले मेरो चर्चालाई लुकाई दिएका हुन सक्छन् । मैले आफूले आफैलाई सान्त्वानाको लेपन लगाएँ ।
तिनीहरू धेरैभन्दा धेरै तपाईँको प्रशंसाको सप्तकोशी बगाइरहेका थिए । उनीहरू तपाईँलाई रिझाउन जन्मदेखिको बल लगाइरहेका थिए । तपाईँहरू उत्तरआधुनिकता, सामवेशी साहित्य, लीलालेखन, रङ्वादी साहित्य, उपराष्ट्रपतिले हिन्दीमा सपथ लिएको आदिको विषयमा चर्चा गरिरहनु भएको थियो एक मनले सोचेँ जाऊ परिचय गरुकी भन्ने सोचले तन्किएँ । तर फेरि वियर खाएको बेला के कस्तो व्यवहार गर्ने हुन् भन्ने सोचेर आफै खुम्चिएँ । कल्पनाको तरङ्गमा तरङ्गदिै थिएँ झल्याँस्स भएर एउटा कुरा सम्झिएँ । मैले तपाईँलाई मेरो विगतको कथा त बताइसकेकी छु । वर्तमानको कथा पनि लेख्नेछु भन्ने कुरा बताएकी थिएँ । त्यो वर्तमान तपाईँलाई अवश्यै लेखेर दिनुपर्छ भन्ने बाध्यताले म घोरिएँ । त्यसपछि भोलिपल्ट बिहानै त्यो कथा पनि दिने, आफ्नो परिचयको ढोका पनि उघार्ने र कथासम्बन्धी साहित्यिक छलफल पनि गर्ने सोचाइ बनाएर म घर फर्के । हाम्रो घर लजको ठीक पछाडि थियो । झण्डै नौबजे म कोठामा आइपुगेँ । म आइपुग्दा छोराछोरी निदाइसकेका थिए । घर आएर निकै बेर घोरिएँ । मेरो वर्तमानको कथा तपाईँलाई लेखेर दिनुछ भन्ने सोचले लेख्न बसेँ । साहित्यलेखनमा मेरा सबैभन्दा आत्मीय मित्र नै राति हो । रातिचाहिँ मेरो आफ्नै हुन्छ । यदि रात नपर्ने हो भने म कथा लेख्न सक्ने थिइनँ । दिनभर त म बाँडिन्छु । बिहानभरि आमा हुन्छु भने दिउँसो कर्मचारी, बेलुका घर व्यवहारको गृहमन्त्री अनि राती श्रीमानको सहयात्री । तर राति जोडी दिन श्रीमानलाई दिनुपर्छ भने बेजोडी दिन चाहिँ साहित्यलेखनलाई दिने गरेकी छु । यो बाहेक महिनाको चारदिनचाहिँ मेरो आफ्नै हुने गर्दछ । केहीछिन पछि श्रीमानज्यूले धरान नै बस्ने जानकारी दिए । म आन्दोलित बनेँ । पुरुषहरूलाई कुनै नितिनियम छैन जहाँ जाँदा जे गर्दा पनि हुने - किन हुनु पर्यो र समाजले यति धेरै स्वतन्त्रता बोनसमा दिएपछि । मैले पढेकी छु यसरी मिटिङ्ग भन्दै पुरुषहरू तरुनीहरूको रसरङ्गमा रमाउनेहरूको कथा । त्यही कथाको एउटा पात्र मेरो श्रीमान पनि हुनसक्छ । तर म के गर्न सक्छु विवश र लाचार छु । के बन्धन र नियम त महिलाका लागि मात्र हुन - मैले सोचेँ म पनि तपाईँलाई भेडेटार घुम्न प्रस्ताव राख्ने छु र पुरुषझैँ स्वतन्त्र हुनेछु । तर मैले सोच“े तपाईँले के ठान्नुहोला - फेरि एउटा पुरुषको व्रि्रोहमा मैले अर्को पुरुषको सहारा किन लिऊ - फेरि पुरुष साहित्यकारहरू प्रायः जसो यौनवादी हुन्छन् भन्ने मैले सुनेकी छु । त्यसैले मैले मेरो यो मनोकल्पनालाई मुनामा नै निमोठी दिएँ ।
भोलि कथा लिएर तपाईँलाई भेट्नुछ । म आत्तिएँ । कतिखेर कथा लेखुँ । हुन त आफ्नै वर्तमानको कथा हो । कुनै पात्र, विषयवस्तु र घटना सोच्नै नपर्ने । आफ्नो जीवनको वर्तमान कथामा सललल लेख्दा भइहाल्ने । आज श्रीमान पनि नभएको मलाई समयले पनि अनुकुलता दिएको थियो । मैले आफ्नो कथामा खर्चनु पर्ने शब्द, समय, भावना सबै खर्चे र एउटा सफल कथा लेखेँ । सोचेँ , बिहान चाँडै गएर तपाईँलाई दिनेछु ।
बिहान चाँडै उठे । नियमित धन्दा सकेर तपाईँलाई भेट्न जानलाग्दा छोरीले स्कूलको एउटा प्राजेक्ट वर्क कम्प्युटरमा तयार गरिदिन अनुरोध गरी । नगरी भएन, किनभने नगर्दा ऊ एकाई परीक्षामा फेल हुने सम्भावना थियो । म विवशताले बाधिएँ । टाइपचाहिँ उसले गरिसकेकी रहिछे । दस मिनेट त हो नि भनेर उसको प्रोजेक्ट वर्क मिलाउन थालेँ । गर्दागर्दै झण्डै आधा घण्टा बढी लाग्यो । काम सकेर म हतारहतार गर्दै रेष्टुरेण्ट आइपुगेँ । तपाईँको विषयमा मेनेजरलाई सोधेँ । तर तपाईँ गइसक्नु भएछ । मन खिन्न भयो । त्यो कथा तपाईँको हातमा दिउँला र परिचयको ढोका खोलौँला भन्ने कत्रो सपना थियो । तर सपना असमभ्यव्यताको बाढीले बगाएर लगिसकेको थियो ।
कथाकार दिवाकर नेपालीज्यू म स्वयम् परिचित हुन नचाहेकोले मलाई घमण्डी नठान्नुहोला यो मेरो आत्मास्वाभिमान हो । मेरो आत्मास्वाभिमानलाई अवश्यै सम्मान गर्नुहुनेछ भन्ने आशा गरेकी छु । त्यो कथा चाडै नै कम्प्युटर टाइप गराएर तपाईँले पढ्ने गरी र्सार्वजनिक गर्नेछु । आजलाई यति ।

Filed Under:

अनुरोध

इजरायलबाट प्रकाशन हुने अनेसासको द्वैमासिक पत्रिका - मेरोनेपालमा yomeronepal@gmail.com मा लेख रचना पठाएर सहयोग गनु हुन सबै साहित्यप्रेमीहरुमा हार्दिक अनुरोध गर्दछौं । साथै यो साहित्यसागरमा कुनै पनि लेख रचना आफै सम्पादन र सम्प्रेषण गर्न इच्छुक साहित्यप्रेमी साथीहरुले सोको जानकारी सहित यहि ईमेल मा सम्पर्क गर्नु होला । हामी लेखकीय विशेषाधिकार प्रदान गर्नेछौं ।